हमासले चार मृत बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गरेको छ। इजरायली सेनाका अनुसार गएराति रेडक्रसको माध्यमबाट शवहरू बुझाइएको हो।
सेनाले जनाएको छ कि शवहरूको डीएनए परीक्षणपछि मात्र औपचारिक पहिचान सार्वजनिक गरिनेछ। तर, हमासको सैन्य शाखा अल–कस्सम ब्रिगेड्सले पुष्टि गरेको अनुसार ती चार जनामध्ये नेपाली विद्यार्थी विपिन जोशी, इजरायली सैनिक ड्यानियल पेरेत्ज, योसी शाराबी, र गाय इलोउज रहेका छन्।
हालसम्म २८ जना मृत बन्धक रहेको अनुमान गरिएकोमा सोमबार चार शव मात्र फिर्ता गरिएको हो।
अमेरिकाको मध्यस्थतामा भएको सम्झौताअनुसार, हमास र यसको सहयोगीहरूले युद्धविराम घोषणा भएको ७२ घण्टाभित्र बाँकी सबै बन्धकहरू (जीवित र मृत) रिहा गर्नुपर्ने शर्त भए पनि, हमासले सो म्यादभित्र पूर्णरूपमा कार्यान्वयन नगरेको बताइएको छ। तर, हमासले सम्झौता पालना गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेको छ।
नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा ल्याइपुर्याइएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जोशीको शव अस्पतालमा पुगोस् भनी आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी थिए। उनी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत सन् २०२३ मा इजरायल पुगेका थिए। गाजा सीमाको किबुज अलुमिम क्षेत्रमा कार्यरत रहँदा गत वर्षको अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका थिए।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको शर्म अल–शेख सहरमा “गाजा शान्ति सम्झौता”मा हस्ताक्षर गरेका छन्। ट्रम्पले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सीसीसँग मिलेर सम्मेलनको नेतृत्व गरेका थिए। उक्त कार्यक्रममा २० भन्दा बढी देशका नेताहरू उपस्थित भए पनि इजरायल र हमासलाई आमन्त्रित गरिएको थिएन।
ट्रम्पले यो सम्झौतालाई “नयाँ मध्यपूर्वको ऐतिहासिक बिहानी” भन्दै आफ्नो टोलीको प्रशंसा गरेका छन्। सम्झौतामा “प्रत्येक व्यक्तिले सम्मान, शान्ति र समान अवसर पाउनुपर्छ” भन्ने सन्देश लेखिएको छ।
हमासले चार मृत बन्धक फिर्ता गर्नु अघि २० जना जीवित इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गरेको थियो। अब हमाससँग कुनै पनि जीवित इजरायली बन्धक नरहेको बताइएको छ। यसको बदलामा इजरायलले हालसम्म २५० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ।
रिहा गरिएका बन्धकहरू आफ्ना परिवारसँग पुनर्मिलन हुँदा इजरायलका विभिन्न अस्पतालहरूमा भावनात्मक दृश्यहरू देखिएका छन् भने, वेस्ट बैंक र गाजापट्टीमा मुक्त प्यालेस्टिनी कैदीहरूलाई परिवारले आँसु र खुसीसाथ स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।