Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

हमासले नेपाली विपिन जोशीको मृत्यु पुष्टि, शव आजै बुझाउने तयारी

हमासले अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको मृत्युपुष्टि गरेको छ। जोशीसहित चार जना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार हमासको सैन्य शाखाले सार्वजनिक गरेको सूचीमा इ इलौज, योस्सी शराबी, बिपिन जोशी र डानियल पेरेत्स रहेका छन्। ती चार जनाको शव आजै इजरायली पक्षलाई हस्तान्तरण गरिनेछ।

यसअघि, इजरायली सेनाले जोशी जीवित नरहेको जानकारी नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डित र विपिनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत् गराइसकेको थियो।

हमासले आजै थप २० जना जीवित बन्धकहरूलाई रिहा गरेको छ। तर, बन्धकको अवस्थाबारे विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूमा अझै अन्योल कायमै छ। मृत्यु भएका बन्धकहरूको संख्या २८ जना सम्म पुग्ने अनुमान गरिएको बीबीसीको उल्लेख छ।

विपिन जोशी सन् २०२३ अक्टोबरमा हमासको आक्रमणका क्रममा अपहरणमा परेका नेपाली विद्यार्थीहरूमध्ये एक थिए। उनी इजरायलमा कृषि अध्ययनका लागि कार्यरत नेपाली विद्यार्थी समूहसँगै रहेका बेला बन्धक बनेका थिए।