सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंकको नेतृत्वमा तथा एनएमबी बैंकको सहनेतृत्वमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आईसीएफसी फाइनान्ससहितको सहवित्तीय व्यवस्थापन औपचारिक रुपमा सम्पन्न भएको हो।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जीबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ। सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जीका तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन्।
नेपालका प्रमुख वाणिज्य बैंकमध्येको एक कुमारी बैंकले हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत तथा सौर्य ऊर्जा परियोजनाहरुमा लगानी गर्दै आएको छ। बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी (प्रतिबद्धतासहित) २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरुको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरण अन्तर्गत समेत) योगदान गरिसकेको छ। जसमध्ये केही सञ्चालनमा रहेको र अरु विभिन्न निर्माणाधीन चरणहरुमा छन्। यी परियोजनाहरुले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति बढाउन महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
करिब ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने यस आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र ड्यु डिलिजेन्स स्टेडीसमेत सम्पन्न भइसकेको छ। यो आयोजना अर्धजलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घन्टाको पिकिङ क्षमता रहनेछ। आयोजनाको डिजाइन डिस्चार्ज ३४.१ घनमिटर प्रतिसेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ। आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १।४१ घन मिटर प्रति सेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति प्राप्त भइसकेको छ। आयोजना ५ वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते (१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यसहित अघि बढाइएको छ। आयोजनाबाट वार्षिक १२२९.६ गिगावाट घन्टा विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ। बर्खायाममा ८३४.४९ न्धज र सुखा याममा ३९५.११ न्धज उत्पादन हुनेछ। जसमा १६३.६३ जीडब्ल्यूएच पिक इनर्जी हुनेछ। सुक्खायाममा पिक इनर्जीको विद्युत दर प्रतियुनिट रु.१०.५५ र नन–पिक इनर्जीको दर रु. ८.४० रहनेछ।
उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रस्तावित ४०० केभी बझाङ सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९.२५ करोड रुपैयाँ हुनेछ र प्रथम वर्षमै अनुमानित ७ अर्ब ६७ करोड रुपैयाँ आर्जन हुने अपेक्षा गरिएको छ।
आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जीले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ। यसका ठूला लगानीकर्तामा सुरी न्यादी पावर, ङादी ग्रुप पावर, सगरमाथा जलविद्युत कम्पनी, माई खोला हाइड्रोपावर, यश होल्डिङलगायतका ठूला कम्पनी तथा शैलेन्द्र गुरागाईं, डा। भोगेन्द्र कुमार गुरागाईं र दिनेश गुरुङजस्ता अनुभवी लगानीकर्ता छन्।
स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत आयोजना नेपालको जलविद्युत विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ। आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ।