Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सिरहा बेतौनावासीको गुनासो, ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’

सिरहा गोलबजार नगरपालिका–१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् । दुई पटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको स्वाद चाख्न पाएका छैनन्।

एक सयभन्दा बढी घरपरिवार रहेका यो बस्तीमा न बाटो मर्मत भएको छ, न खानेपानी, न त अन्य कुनै पूर्वाधार निर्माण नै । वरपरका गाउँमा सडक ढलान, मन्दिर, पाहुनाघर, विद्युतीकरणजस्ता सम्पन्न भइसके पनि पालटोलमा भने अहिलेसम्म विकासका नाममा एक चपेटा माटो समेत हालिएको छैन।

विकासका नाममा राज्यका विभिन्न सरकारी निकाय तथा जनप्रतिनिधिबाट सधैं उपेक्षा गरिएको भन्दै स्थानीय पूर्व शिक्षक शम्भु राउत भन्छन्, ‘हामी विपक्षी ठहरिएका छौँ, त्यसैले जनप्रतिनिधिले नजरअन्दाज गरे । पटक–पटक वडाबाट पालिकासम्म गुहार गर्दा पनि हाम्रो आवाज सुन्ने कोही छैन।’

बस्तीका ७८ वर्षीय सुकदेव राउतको गुनासो उस्तै छ। उनी भन्छन्, ‘अब त पानी पनि अरूकहाँबाट ल्याएर पिउनुपरेको छ ।’ अन्य स्थानीयहरूले पनि बस्तीलाई दलगत राजनीतिले विभाजित गरेर विकासबाट टाढा राखिएको आरोप लगाएका छन्।

यसबारेमा वडाध्यक्ष गणेशकुमार मुखिया भन्छन्, ‘बजेट अभावका कारण काम ढिलो भएको हो । हामीले पालटोललाई बेवास्ता गरेका होइनौँ । सडक ढलानको काम एकैपटक मिलाएर प्रभावकारी बनाउने सोच छ, त्यसैले केही समय लागिरहेको हो । विकास गर्न हामी पनि इच्छुक छौँ, तर स्रोत साधनले सीमित बनाएको छ।’

नगर प्रमुख श्यामकुमार श्रेष्ठले पालटोलको अवस्थाबारे जानकारी रहेको भन्दै नगरपालिकाले सम्भव भएसम्म छिट्टै पूर्वाधार विकास गर्ने योजना बनाइरहेको बताए। ‘हामीलाई पालटोलका समस्या थाहा छ, बजेट र प्राथमिकताको आधारमा पालिकाभित्रका सबै वडामा विकासको सन्तुलन मिलाउने कोशिस गर्दैछौँ’, उनले भने, ‘यसपालिको नीति तथा कार्यक्रममा पनि पालटोललाई समेट्ने प्रयास गरिएको छ।’ तर १० वर्षसम्मको प्रतीक्षा, गुहारी, माग र आश्वासनबीच पनि काम नहुनु अब पालटोलवासीका लागि पीडाभन्दा पनि चिन्ताको विषय बन्न थालेको छ।