Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

शवदाह मेशिन खरिद प्रकरण: सदस्य सचिव थापालाई धरौटीमा छाड्न आदेश

पशुपति शवदाह गृह मेशिनमा भ्रष्टाचार गरेको आरोप लागेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा एक लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

कोषका सदस्य सचिवसहित १६ जनाविरुद्ध पशुपतिको शवदाह गृहको मेशिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएकोमा थापा सोमबार विशेष अदालतमा हाजिर भएपछि बयान र थुनछेक बहसपछि एक लाख धरौटी छोड्न अदालतबाट आदेश भएको हो ।

तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा सोमबार भएको बयान तथा थुनछेक बहसपछि एक लाख धरौटीमा छोड्न आदेश दिइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ मा कोषका सदस्य सचिव थापासहित १४ जना र दुई वटा कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले थापासहित १६ जनासँग १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ हानिनोक्सानी भएको भन्दै बिगो भराई पाउ भन्दै माग दाबी गरेको छ । ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मेसिनलाई बढी देखाएको आरोप छ ।

एक करोड ५२ लाख रुपैयाँको उनीहरूले पेस्की समेत भुक्तानी गरेको आरोप छ । यसरी सम्झौता गर्दा कुल १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बराबरको ठेक्का सम्झौता दिएर हिनामिना गरेको आरोप छ ।