Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ओली पनि पुगे च्यासल, भण्डारीसँग छलफल हुँदै

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न ओली बालुवाटारबाट ललितपुरको च्यासल पुगेका हुन् ।

भण्डारी आधा घण्टा अगाडि नै च्यासल पुगिसकेकी छिन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्य व्यवस्तताका कारणले केहीबेर पर धकेलिएको थियो । अब केहीबेरमै उनीहरू वार्तामा जुट्ने छन् । भण्डारीले गरेको सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

अहिले एमाले पार्टी कार्यालयमा नेता–कार्यकर्ताहरूको बाक्लो भिड छ । च्यासल पुगेपछि भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका नेतासँग अनौपचारिक संवाद गरेकी थिइन् । राजनीतिमा फर्किने घोषणा गरेपछि ओली र भण्डारीले पहिलो पटक छलफल गर्न लागेका हुन् ।

एमाले पोलिटब्युरोको शनिबार बसेको बैठकले भण्डारीको पार्टी सदस्यता पेन्डिङमा रहेको घोषणा गरेको थियो । तर भण्डारीले असार १४ सदस्यता नवीकरण गरेर एमालेमा फर्किएको घोषणा गरेकी थिइन् ।