सरकारले राष्ट्रिय गौरवको योजना अन्तर्गतको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन प्रकृया सम्पन्न भएको छ ।
यस परीयोजनाका अध्यक्ष सुवास शाहीले यस रंगशाला तथा खेलग्रामको ईआईए स्वीकृत भएको जानकारी दिएका हुन् । सरकारले समिति बनाएरै कामको जिम्मेवारी दिएको छ । ईआईएले परियोजना निर्माणका लागि आवश्यक महत्त्वपूर्ण कानूनी प्रक्रिया पूरा भएको साहीले जानकारी दिएका छन् ।
शाहीले भनेका छन्- 'नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेसँगै परियोजनाको खाकाले मूर्तरुप पाउँनुका साथै अगाडि बढ्ने मार्गचित्र पनि प्रष्ट पारेको छ ।'
यो परियोजनाका लागि यसअघि आवश्यक जग्गा प्राप्ती, विकास समिति गठन तथा डीपीआर निर्माणलगायत प्राविधिक कार्य सम्पन्न भइसकेका छन् । २६ अर्ब लागत अनुमान गरिएको खेलग्राममा क्रिकेट रंगशाला ५० हजार दर्शक क्षमताको हुनेछ । खेलग्राममा क्रिकेट रंगशालासहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एण्ड फिल्ड, स्पोर्टस् म्युजियमसहित विभिन्न खेलकुद आयोजना गर्न सकिने मल्टि स्पोर्टस हलसहितका पूर्वाधार हुनेछन् ।
ईआईए पास भएसँगै स्रोतको सुनिश्चितता गर्दै ग्लोबल टेन्डरमा जाने प्रक्रिया अघि बढ्नेछ । अध्यक्ष शाहीले फाप्लामा एकदिन विश्वकप आयोजना गर्ने सपनालाई मुर्तरुप दिनुका साथै धनगढीलाई सिटी अफ क्रिकेटका रुपमा ग्लोबल ब्रान्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।