Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

यस वर्ष जनैपूर्णिमा साउनको २४ गते परेको छ । जनैपूर्णिमा आउन एक महिनाभन्दा बढी समय बाँकी नै रहँदा पोखरा महानगरपालिका वडा नं ३२ का ८० वर्षीय कृष्णप्रसाद अधिकारीसहित यहाँका चार जना ज्येष्ठ नागरिकलाई भने यतिखेर जनै बनाउन भ्याइनभ्याइ छ ।

जनै बनाउने सीप पछिल्ला पुस्तामा पुस्तान्तरण नभएको चिन्ता गर्ने ८० वर्षीय कृष्णप्रसादसहित यहाँका ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै स्थानमा बसेर नियमपूर्वक जनै बनाउनमा व्यस्त हुनुहुन्छ । नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाउने प्रचलन छ ।

उहाँहरूले जनै बनाउनका लागि दिउँसो जम्मा हुने ठाउँ पोखरा महानगरपालिका वडा नं ३२ स्कुलटोलस्थित पुरानो गाउँको चौतारो हो । चौतारामा जनै बनाउन व्यस्त देखिने उहाँहरूबाट जनै बनाउन सिक्नका लागि फाट्टफुट्ट अरु पनि आउने गरेका छन् ।

सिक्न र जान्न चाहने जो कोहीलाई आफूले सकेसम्म बुझाएर सिकाएर पठाउने गरेको ८० वर्षीय अधिकारीले बताए । राम्रोसँग बुझ्न र सिक्न भने समय लाग्ने उहाँको भनाइ छ । आफूहरूले बनाएका जनै बेच्नेभन्दा पनि आफ्ना घरपरिवारमा वर्षभरिमा चाहिने जनै पु¥याउने उनीहरूो लक्ष्य छ ।


अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन । जनै बनाउनका लागि सुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगाल्ने गरिन्छ । सँगाल्नका लागि कतुवाको प्रयोग हुने बताउँदै उनले काँचो धागो बाटेपछि जनैको डोरा तयार गरिने जानकारी दिए । यसरी बनेका डोरालाई तीन पटकसम्म पट्याएपछि त्यसमा शिखा पार्ने गरिन्छ । शिखालाई ‘ब्रम्ह ग्रन्थी’ भन्ने गरिन्छ । जनैमा हुने २७ वटा सरालाई अश्विनी, भरणीलगायतका २७ नक्षत्रको प्रतीक मानिने उनले जानकारी दिए ।

जनै लगाइसकेपछि नियमपूर्वक बनाएर संस्कार गरिएका मात्रै लगाउनुपर्ने बताउँदै उहाँले त्यसको आफैँमा विशिष्ट सांस्कृतिक महत्व रहेको उल्लेख गरे ।

“मेरो नौ वर्षको उमेरमा ब्रतबन्ध भएको हो, त्यस यता मैले आफूले बाटेको जनैमात्रै लगाउने गरेको छु”, उनले भने, “सुरुमा बुबाबाट सिकेको जनै बनाउने सीप १० वर्षको भएयता आफैँले निरन्तर बनाउने गरेको छु ।” आफ्ना परिवारका सदस्य एवं वर्षभरि आवश्यकपर्ने जनै आफैँले बाटेर तयार गर्ने गरेको उनको भनाइ छ । अधिकारी जस्तै ६९ वर्षीय गोविन्द कोइरालाले पनि आफूले सात वर्षमा ब्रतबन्ध गरेदेखि आफैँले बाटेर बनाएको जनै लगाउने गरेको बताए ।

नियमपूर्वक जनै बनाउन समय लाग्ने बताउँदै उनले दिनमा बढीमा १० जोरसम्म मात्रै बनाउन सकिने अनुुभव सुनाए । नियम पु¥याएर बाटिएको जनैको पारिश्रमिक स्वाभाविक रुपमा अन्य बजारमा पाइनेको तुलनामा धेरै मूल्यपर्ने उनको भनाइ छ । पछिल्ला पुस्तामा जनै बनाउने सीपको पुस्तान्तरण हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे ।