Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सानोपाइला सहकारीको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो प्रतिवेदन

प्रहरीले पर्साको सानोपाइला बचत सहकारी ठगीको अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर आज (आइतबार) सरकारी वकिलको कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको हो । प्रहरीले ४१ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ।

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववपा) सभापति रवि लामिछाने र प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित ३० जना व्यक्ति र ११ वटा संस्थालाई प्रतिवादी बनाउन राय दिएको छ । सानो पाइला सहकारीमा जीबी भन्ने गितेन्द्रबाबु राई, कुमार रम्तेल, हेमन्त अधिकारी, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, अश्रल अली सिद्धीकी, सागर केसी, दीपक लामा, कविता तामाङ, तस्विरन मिया, रविचन्द्र यादव, सुनित श्रेष्ठ र सन्जु नेवालाई पनि प्रतिवादी बनाउन प्रहरीको राय छ।

यस्तै नेहा पौडेल, अशोक यादव, धिरज कुमार दास, श्रृष्टी मानन्धर, धनबहादुर बुढामगर, प्रमोद भट्टराई, दिपिका राई, खिमानन्द कट्टेल, मनिसा पाण्डे, देबेन्द्रबाबु राई, भुपेन्द्र राई, भगवती बम्जन, रामबहादुर खनाल र अनन्तबाबु राई रहेका छन् । सानोपाइला सहकारीसँगै काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र पोखराको सूर्यदर्शन सहकारीलाई पनि प्रतिवादी बनाउन सुझाव प्रहरीको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी पनि छन्। प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ। लामिछानेसँग पाँच करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीसँग तीन करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी गरिएको छ । यस्तै फरार मुख्य अभियुक्त जीबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ मागदावी गरिएको हो।

रवि लामिछाने र छविलाल जोशी हाल रुपन्देही कारागारमा छन् । उनीहरु चार वटै जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा राख्न आदेश दिएको हो । जोशीलाई भने जिल्ला अदालतले नै थुनामा पठाएको थियो । तर एक करोड धरौटी बुझाएर रिहा भएका लामिछानेलाई पनि उच्चले थुनामा पठाउन आदेश दिएको हो।