Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आठ वर्षमा मुस्किलले १७ किलोमिटर कालोपत्र

म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । २४ किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।

पूर्वाधार विकास कार्यालयका अनुसार ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका–२ सिमसम्म १२ दशमलव पाँच किलोमिटर र १० करोड ७० लाखको लागतमा सिम–पानाबगर खण्डको चार किलोमिटर कालोपत्र भइसकेको छ ।

मंगला गाउँपालिका–२ रणवाङबाट मालिका गाउँपालिका–६ दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ सालमा २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले रणवाङबाट तोलावाङसम्म तीन किलोमिटर ३०० मिटर कालोपत्र भएको छ ।

दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु १४ करोडमा ठेक्का सम्झौता भएको एउटा योजना चालु रहेको र थप ९२ करोड बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको छ ।