Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मानिसहरू जति कराए पनि अब राजतन्त्र आउनेवाला छैनः विमलेन्द्र निधि

सत्तारुढ नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले देशमा राजतन्त्र नफर्कने बताएका छन्। आज शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् ।

देशमा राजा र राणातन्त्र फर्कन सम्भव नरहेको उनले उल्लेख गरे । ‘नेपालमा राजतन्त्र फर्कियो, फर्कियो, फर्कियो, नेपालमा राजशाही आयो, आयो, आयो भन्छन् । सबै बोलिरहेका छन्’, उनले भने, ‘तर, नेपालमा म भन्छु– नेपालमा राजतन्त्र, राणाशाही आउँदैन, आउँदैन, आउँदैन । मानिसहरू जति कराए पनि अब आउनेवाला छैन ।’

अरू देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्ने ख्याल गरेर आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्नेमा उनले जोड दिए । ‘अरू देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरूको कस्तो दुर्गति भएको छ नमान्दाखेरि, त्यो इतिहासमा प्रमाणित छ’, उनले भने, ‘त्यसैले आफ्नो सीमालाई राजाले बुझ्नुपर्‍यो, तत्कालीन राजाले ।’

उनले राजतन्त्र अस्वीकृत भइसकेको बताए । नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको उनले उल्लेख गरे । ‘राजा अपदस्त भइसकेको मात्रै होइन, अस्वीकृत भइसकेको छ । नेपालमा राजतन्त्र समाप्त भइसकेको छ’, उनले भने, ‘नेपालमा जनताद्वारा निर्वाचित सार्वभौम संसद्द्वारा राजतन्त्र अस्वीकृत भइसकेको छ । रिजेक्टेड भइसकेको छ । र, ज्ञानेन्द्र अन्तिम राजा हो ।’

गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने उनको भनाइ थियो । ‘गणतन्त्र आइसकेपछि हाम्रै जिल्लाको डा। रामवरण यादव प्रथम राष्ट्रपति हो गणतन्त्रको । कसरी गणतन्त्र आएको हो त्यो बुझ्नुपर्छ’, उनले भने, ‘यसको जग बलियो छ, यो जगलाई कसैले हल्लाउन सक्दैन ।’ सांसद निधिले देशको मालिक जनता भएको बताए । व्यक्ति देशको मालिक बन्न नसक्नेमा उनले जोड दिए । उनले सार्वभौमसत्ता अब जनतामा निहित रहेको उल्लेख गरे ।