Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

विपीन जोशीको रिहाइका लागि आग्रह गर्दै टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले गरे टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी उक्त आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने तथा यसबारे विपीनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे।

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकानी गरेका थिए।

आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराए।

संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो।