Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग ऊर्जा मन्त्रालयको अनुरोध

नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको छ ।

उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि राति १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको हो । हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेको छ । भारतबाट हाल दैनिक ७ सय मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ । जसका कारण उद्योगहरू प्रभावित भएका छन् ।

ऊर्जामन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन सुक्खायाममा घट्ने भएकाले साँझको समयमा बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरिएको बताए । यस्तै मन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताएका छन् ।

‘ग्रिन इनर्जी आन्टरप्रेनर नेपाल’ले आज आयोजना गरेको ‘साना जलविद्युत् आयोजनाहरूको दिगो सञ्चालनसम्बन्धी देखिएका चुनौती’ विषयक कार्यक्रममा मन्त्री खड्काले साना जलविद्युत् आयोजनाका समस्या समाधान गर्न नीतिगत सुधार गरिने बताए । ‘साना जलविद्युत् आयोजनाका समस्या एकै ठाउँमा राखेर छलफल गरौं, के–के संशोधन गर्नुपर्ने छ, समस्या समाधान गर्न मन्त्रालय तयार छ,’ उनले भने । ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने मन्त्री खड्काको भनाइ थियो ।

उनले साना जलविद्युत् आयोजना सँगसँगै मुलुकको समग्र ऊर्जा क्षेत्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरे । संस्थागत रुपमा रहेका तहगत बेथिति पनि समाधान खोज्दै जानुपर्ने उनले बताए । मन्त्रिपरिषद्बाट स्वीकृत भएको ऊर्जा विकास मार्ग चित्रले निजी क्षेत्रका समस्या समाधान खोजेको मन्त्री खड्काले उल्लेख गरे । व्यवसायीलाई परेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । मन्त्री खड्काले विद्युत् प्राधिकरणले गरेको गल्तीका दोष निजी क्षेत्रमाथि थोपर्न नहुने बताए ।