Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

संसद्मा रास्वपाको मागः २५ करोड प्रकरणमा ड्राइभरमात्रै नसमातियोस्, मालिक सार्वजनिक होस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले केही दिनअघि काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन् । 

आज बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको र अहिले २५ करोडको पनि मालिक पत्ता नलाग्ने सम्भावना बढेर गएको बताएका हुन् ।

‘२५ करोड रुपैयाँ टोखामा समातियो । विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं । ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो । कहिले पनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन । यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला, ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ । यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरुलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ?’ प्रश्न गर्दै उनले भने ।

साथै, भर्खरै सिन्धुपाल्चोकका ७४० वटा भेपसहितको ट्रक समातिएको र यो भेट नेकपा (एमाले) को पार्टी कार्यालय बनाउन जग्गा दान दिने भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङको रहेको भन्ने जानकारीमा आएको पनि उनले बताए । उक्त भेप प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मान्छेको भएकाले उन्मुक्ति दिन सकिने खतरा रहेको उनको भनाइ छ । 

उनले भने, ‘भर्खरै सिन्धुपाल्चोकमा समातिएको ट्रक, जसमा ७४० वटा भेप समातियो । भाटभटेनी सुपरमार्केटको भएको भन्ने कुरा खुलिसकेको छ । त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले त्यसलाई संरक्षण नगरियोस् ।’