Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधानमन्त्रीको सन्देश: एसइईसँग नआत्तिनुस्, जीवनमा परीक्षा कदम–कदममा आउँछन्

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहीबार) बाट सुरु हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन्। आज (बुधबार) एक भिडियो सन्देश जारी गर्दै ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका छन्। ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यस पटक मैले तपाईहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु’, ओलीले भनेका छन् ।

पहिला–पहिला एसइईलाई फलामे ढोका भनिने भएकाले पनि त्यसले विद्यार्थीलाई त्रास बढाउने गरेको उनले बताए । तपाईहरू परीक्षासँग नतर्सिनुस्, परीक्षा जीवनका कदम कदममा मोड मोडमा आइरहने चिज हो, धेरै परीक्षा उत्तीर्ण गरेर तपाईहरू यहाँ आइपुग्नु भएको छ, भविष्यमा पनि तपाईहरूले अनेक परीक्षा पार गर्नुपर्ने छ’, उनले भनेका छन् ।

उनले धैर्यताका साथ नआत्तिन राम्रो तयारी गरेर परीक्षा दिन आग्रह गरेका छन् । अनिंदो र थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भन्दै उनले त्यसबाट जोगिन आग्रह गरेका छन् । ‘एसइईको परीक्षा आइहाल्यो, त्यस कारण तपाईहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईहरू राम्रो अंक प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै धेरै शुभकामना’, ओलीले सन्देशमा भनेका छन् ।