Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बरामद २५ करोड नगदबारे अनुसन्धान गर्न माओवादीले माग्यो छानविन समिति

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् ।

आज बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकमा आर्थिक अपराध मौलाउँदै गएकोप्रति समेत चिन्ता व्यक्त गरे । उनले यस्तो अपराध उच्च तहको संलग्नता बिना सम्भव नहुने भन्दै आवश्यक अनुसन्धान गर्न माग गरे। उनले घटनाको छानबिन गरी संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यस्ता प्रकृतिका घटनामा भरिया र ड्राइभर मात्र पक्राउ पर्दछन् । केही समय ठूलाठूला समाचार बन्दछन् र निश्चित समयपछि सामान्य रुपमा जाने गरेको छ । हाम्रो दलको तर्फबाट, यो घटनाको लागि छानविन गर्न एउटा विशेष छानविन समिति गठन गरियोस् र यो घटनामा संलग्न उच्च तहका नेता एवं कर्मचारी भए पनि कानूनी दायरामा ल्याउन माग गर्दछु ।’

काठमाडौं प्रहरीले करिव २५ करोड नगदसहित एक जनालाई पक्राउ गरेको थियो । अमेरिकी डलर र युरोसहित दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरिएको छ ।