Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रवि लामिछानेको संसद् पद निलम्बन

रवि लामिछानेको संसद् पद निलम्बन भएको जनाएको छ । संसद् सचिवालयले हालै प्रकाशन गरेको संसद् दर्पणको ३६औँ अंकमा उनको संसद्पद निलम्बन भएको उल्लेख गरेको छ।

संघीय संसद् सचिवालयले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम मुद्दा दायर भएकोले उनको पद निलम्बन भएको हो । २०८१ कात्तिक ३ गते प्रतिनिधि सभा सदस्य रवि लामिछाने कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ परेका थिए ।

पक्राउ परेको व्यहोराको सूचना प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ९२० को प्रयोजनको लागि प्राप्त भएको सचिवालयले उल्लेख गरेको छ । गत ८ पुसमा सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद निलम्बन हुने निर्णय गरेका थिए ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी पत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्रमार्फत गराएको थियो ।

सोही पत्रको आधारमा सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन हुने निर्णय लिएका थिए। लामिछानेको सांसद पद निलम्बनको विषयलाई लिएर विपक्षी दलहरूले प्रश्न गर्दै आएका छन् । गत फागुन २७ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामिछानेको सांसद पद निलम्बन हुने सभामुख घिमिरेको निर्णयलाई अनुचित भनेका थिए ।

‘‘प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसद् सचिवालयले निकालेको सूचनामा उल्लेख छ ।