Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सरकारलाई राप्रपाको प्रश्नः यौन व्यवसाय चलाउने दिन आएकै हो?

राप्रपाका सांसद दिपकबहादुर सिंहले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिन राखेको भनाइप्रति आक्रोश व्यक्त गरेका छन् । आज सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले सरकारकै सांसदबाट यस्तो कुरा आएको भन्दै आक्रोश प्रकट गरेका हुन् ।

उनले देशका युवाहरू रोजगार तथा पढाइका लागि विदेशिएका बेला देशमा मात्र कलिला छोरीचेली र आमाहरू रहेको उल्लेख गर्दै यो देश प्रकृतिको सुन्दर देश भएको बताए । उनले विश्वको जलस्रोतको धनी देश भएर पनि धेरै पैसा खर्च गर्ने पर्यटन भित्र्याउन यौन व्यवसायलाई कानुनी मान्यता दिन खोज्नु राम्रो नहुने जिकिर गरे । उनले यहि दिनको लागि राजा फालिएको हो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘देशका युवाहरू विदेशिएका छन् अब मात्र कलिला छोरी चेली र आमाहरू मात्र छन् । यो देश प्रकृतिको सुन्दर देश हो । विश्वको जलस्रोतको धनी देश हो । यो देश माता सीता र बुद्ध जन्मिएको भूमि हो । यहि दिनको लागि राजा फालिएको हो रु’ प्रतिनिधि सभाको हिजोको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसाय सञ्चालन गरे आर्थिक र पर्यटक पनि बढ्ने बताएका थिएका। यस्तै सांसद सिंहले मर्यादाहीन तरिकाले पेस भएको भन्दै रेकर्डबाट हटाएर सांसद पन्तलाई सचेत गराउन माग गरे ।

सांसद सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांसदले अपशब्द बोलेको भन्दै आपत्ति जनाएका छन् । सिंहले एमाले सांसद रघुजी पन्तले सांसद शाहीको मानहानी गरेको भन्दै सचेत गराउन माग गरेका हुन् । उनले सांसद शाहीमाथि मिस्टर, तपाईं, तिमी भनेको भन्दै आपत्ति जनाए । सांसद सिंहले जुम्लाबाट जनताले चुनेर पठाएका सांसद शाहीमाथि अपशब्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसद पन्तको अभिव्यक्ति रेकर्डबाट हटाउन र सचेत गराउनु पर्नेमा जोड दिए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले पूर्व राजाहरूको आलोचना गरेपछि राप्रपा सांसद शाहीले उठेर विरोध जनाएका थिए । सांसद पन्तले सम्बोधनका क्रममा राजाकालमा घटेका विभिन्न घटनाले देशलाई अन्धकारतिर धकेलेको बताएपछि सांसद शाहीले बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न भनेका थिए। त्यसपछि सांसद पन्तले आफूले बोलेका कुरामा सत्यता नभए इतिहास पढेर आफूसँग बहस गर्न आउन शाहीलाई चेतावनी समेत दिएका थिए ।