Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रजातन्त्र नमासिने गरी राष्ट्रपतिको ठाउँमा राजा ल्याइन्छः सांसद शाही

‘खुलामञ्चबाट पाँच हजार हत्याको जिम्मा लिन्छु भनेको होइन?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सीमित नेताहरूलाई चाहिएको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सीमित नेताहरुलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको दावी गरे । उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे । सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौति समेत दिए ।


उनले नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासिकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उदघोष समेत गरे । सांसद शाहीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? भन्दै प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद रघुजी पन्तले राजतन्त्रकालका हत्याको शृंखला सम्झाएपछि उनले त्यस्तो जवाफ फर्काएका हुन् ।

‘यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नु भएको थियो, मदन भण्डारीको हत्या कसले ग¥यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ’, शाहीले भने, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ ।’ उनले दुईतिहाइको सरकार भएका बेला त्यो हत्याको याद आएन ? भन्दै थप प्रश्न गरे । ‘हत्याको कुरा गर्नु हुन्छ ? राष्ट्रपति तपाईहरूकै थिए । प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो । संसद्मा दुईतिहाइ थियो । अनि, मदन भण्डारीको हत्याको याद आएन ?’, उनले प्रश्न गरे ।

काण्ड सम्झाइदिऊँ ? भन्ने पन्तको भनाइमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगायौं ? भन्दै प्रश्न गरे । उनले थपे, ‘बाँदरमुडे घटना याद छ । निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ?’, उनले भने, ‘लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्मा सांसद बनेर हिँडिरहेका छन् । यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?’

उनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति पनि खनिएका छन् । ‘खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो । भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो ?’, उनले भने । उनले राजासहितको प्रजातन्त्र चाहिने भन्दै खुला बहस गर्न तयार रहेको बताएका छन्।