Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रघुजी बोल्दा ज्ञानेन्द्रले आपत्ति जनाएपछि संसदमा ‘लफडा’ (भिडियोसहित)

काम नगर्ने मन्त्री फेर्ने बेला आयोः सांसद पन्त

सत्तारुढ नेकपा एमाले सांसद रघुजी पन्त राजा किन चाहियो? भन्दै संसदमा प्रश्न गरेका छन् । आज आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको बताएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाउँदा भनाभन समेत भएको छ ।

सांसद पन्त बोल्दै गर्दा बीचमा उठेर राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि सभामुखले समय लिएर बोल्न आग्रह गरेका थिए । तर, सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह गरे । त्यसपछि शाहीले नमानेपछि पन्तले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए । ‘मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस् । मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस्,’ उनले भने ।

उनले नेपालको संविधानले राजतन्त्र नचिन्ने बताएका छन् । उनले थपे, ‘अहिले संविधानले राजतन्त्र चिन्दैन । त्यसैले संसदमा यस विषयमा छलफल गर्न पाइँदैन । राजतन्त्र इतिहासको विषय भइसक्यो ।’ उनले राजतन्त्र ल्याउने संघर्षका लागि सडकमा उत्रिने वातावरण नबनाउन चेतावनी समेत दिए । सांसद पन्तले काम गर्न नसक्ने मन्त्रीहरू फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । पन्तले आफ्नै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै काम गर्न नसक्ने मन्त्रीलाई हटाउन भनेका हुन् ।

उनले पूर्व विशिष्टहरूलाई आजीवन सेवा सुविधा दिनेबारे मन्त्रीहरू नबोलेकोबारे उनले आपत्ति जनाएका छन्। ‘विशिष्टहरूलाई सुविधा दिनेबारे डेढ वर्षदेखि कानुन मन्त्रालयमा ड्राफ्ट भइरहेको छ । मन्त्रीजीहरूको पारा देखेर छक्क परिराछु । हिजो प्रकाशमानजीले पाल्पामा भन्नु भयो–यो अहिले भइरहेको छैन । यही कुरा यहाँ संसद्मा आएर भने भयो नि कसरी बनेको, किन बनेको, के कारणले बनेको भनेर ।’