Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मञ्चमै प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो मञ्चमै जलाउने राप्रपा नेता नीराजन बम पक्राउ परेका छन् । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज (आइतबार) उनलाई पक्राउ गरेको हो ।

शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै मञ्चमै फोटो जलाउँदै नारा समेत लगाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् ।

बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर र भाइमारा’ को आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ ।