Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौंः विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताएका छन् । आज शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले आफूहरु नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोशिसमा रहेको बताए । उनले माओवादीहरुलाई मात्रै नभइ समाजवादीलाई पनि एक ठाउँमा राखेर अघि बढ्ने छलफल अघि बढिरहेको बताए ।


उनले भने, ‘हामी नेपालको होल कम्युनिष्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त? भन्नेमा पनि सोचिरहेका छौं ।’ माओवादीहरु एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिष्ट मुभमेण्टलाई नयाँ अवधारणामा रुपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ ।’

महासचिव चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गर्ने गरी अघि बढिरहेको बताए ।