Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सांसदकै अगाडि राप्रपा कार्यकर्ताले जलाए प्रचण्डको तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जलाएको छ ।

आज (शनिबार) मकवानपुरमा आयोजित जिल्ला अधिवेशनमा राप्रयुसंका निराजन बमले कार्यक्रम मञ्चमै पूर्व प्रधानमन्त्री प्रचण्डको तस्बिर जलाएका हुन् । कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहलगायत नेताहरू उपस्थित थिए ।

यता जिल्लामा पूर्व प्रधानमन्त्रीको तस्वीर जलाइरहँदा जिल्ला प्रशासन कार्यालय र मकवानपुर प्रहरी भने बेखबर देखिएको छ । यस घटनाको विषयमा आफूलाई भर्खरै मात्रै जानकारी आएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताइन् । आफू एउटा बैठकमा रहेको बताउँदै सीडीओ श्रेष्ठले यस विषयमा पछि कुरा गरिने बताइन् ।

यसैबीच बमले आफूले जलाएको तस्वीरहरु समाजिक सञ्जालमा शेयर गर्दै लेखेका छन्, ‘प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोप–प्रत्यारोप लगाएर वातावरण प्रदूषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनु भएको छैन होलानी भनेर सन्देश दिइएको छु । मूर्ति चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनु भयो ।’