Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पूर्व विशिष्टलाई सुविधाको कुनै तयारी छैन, हल्लाको पछि नलागौंः मन्त्री सिंह

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तक्र्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको पनि बताए । यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उनको भनाइ छ । ०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्व विशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए ।


अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणमा सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रष्ट पारे । सरकारविरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइएको भन्दै यथार्थ बुझ्नुपर्नेमा जोड दिए ।

त्यस्तै, सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको भन्दै कसैले किस्तीमा राखेर नदिएको बताए । प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहको दाबी छ ।