Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पूर्वराजाप्रति प्रचण्डको आक्रोशः मूर्ति चोर को हो, वंश मास्ने को?

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि फर्किने दिवा स्वप्न नदेख्न चेतावनी दिएका छन् । आज (शुक्रबार) सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा उनले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाउँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

उनले वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? भन्दै प्रश्न गरेका छन् । ‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?’ उनले भने, ‘आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’ प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्न चाहेको बताएका छन् । आफूले पूरा कार्यकाल प्रधानमन्त्री बन्न पाएको भए दरबार हत्याकाण्डको छानबिन निचोडमा पुर्‍याउने सुनाए ।

‘मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो’, प्रचण्डले भने ।

प्रचण्डले ज्ञानेन्द्रको दुस्साहसलाई जवाफ दिन आफूहरू तयार भएको बताए । उनले आफू प्रधानमन्त्री जनताको बलमा नै भएको बताए । ‘हामीलाई शान्तिसम्झौतामा कुनै प्रभुहरूले, राजामहाराजाहरूले ल्याएको होइन । हामीलाई पटक–पटक प्रधानमन्त्री कुनै प्रतिक्रियावादी बुर्जवाहरूले बनाएको होइन’, उनले भने । जनताकै तागतका बलमा देशको नेतृत्व लिने पनि बताए ।