Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम गरेको छः पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार असफल र असक्षम सावित भएको पार्टीको निष्कर्ष रहेको भन्दै उनले सो कुरा बताएका हुन् ।  


उनले भने, ‘वर्तमान सरकारसँग भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने कुनै ठोस नीति, कार्यक्रम र योजना छ्रैन । देशको अर्थतन्त्रलाई कमजोर बनाउने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसक्ने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने सरकारले जनतामा नैराश्यता बढाएको छ ।’

‘वर्तमान सरकारले आपूर्ति व्यवस्थामा सुधार ल्याउन नसकेको, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय हितअनुकुल परराष्ट्र नीति कायम गर्न नसकेको पार्टीको निष्कर्ष छ,’ प्रमुख बस्नेतले भने ।