Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाई जारी

पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आजबाट फेरि सुनुवाइ सुरु भएको छ । सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको सो रिट सर्वोच्चको संवैधानिक इजलासमा पेशी तोकिएको थियो ।

आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी मनोजकुमार शर्मा र कुमार चुडाल सम्मिलित संवैधानिक इजलास गठन गरिएर सुनुवाई भइरहेको हो । यसअघि गत असोज ९ गते हालसम्म भएका प्रगति विवरण माग भएको थियो । तत्कालीन प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्याायधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासलले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको थियो ।


काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । त्यस्तै सोही मुद्दामा सापकोटामाथि कारबाहीको माग गर्दै कनकमणि दीक्षित र सुशील प्याकुरेल समेतले पनि रिट दायर गरेका थिए ।

उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो । माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो। त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा, रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको पीडित परिवारको दाबी छ ।