Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

उद्योग क्षेत्र समृद्धिको बाटोमा छः उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख रहेको बताएका छन् । मेरो अटोले आज यहाँ आयोजना गरेको अटोमोटिभ कनक्लेभ–२०८१ को उद्घाटन सत्रमा उनले आर्थिक सुधारका पक्षमा सरकार दृढताका साथ लागिपरेको उल्लेख गर्दै त्यसले उद्योग क्षेत्रलाई समृद्धिको बाटोमा ल्याइरहेको बताएका हुन् ।

सरकारले निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित रहेको उल्लेख गरे । नयाँ बजेटको छलफल शुभारम्भ भएको जनाउँदै उनले उद्योग मन्त्रालयको नीतिगत सुधारका लागि र निजी क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयबाट बजेट माग गरिने बताए ।


मन्त्री भण्डारीले निजी क्षेत्रको समग्र विकासका लागि नीतिगत तथा अन्य विषयमा सुझावका लागि आह्वान गरे । अहिलेका ऐन खण्डीत नहुने गरेर नीतिगत सुधारका लागि उनले सुझाव माग गरे। आफू उद्योगमन्त्रीका रुपमा रहँदासम्म उद्योग क्षेत्रको सुधारका क्षेत्रमा जतिसुकै नकारात्मक आलोचना गरिए पनि बिना कुनै स्वार्थ लागिपर्ने उनले प्रतिबद्धता जनाए ।

नेपालका उद्योगी तथा व्यवसायीले विभिन्न प्रहार झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । स्वदेशी वस्तु उपभोगको प्रसङ्ग दोहोर्‍याउँदै उनले नेपाली उत्पादनको प्रयोग नगर्ने प्रवृत्तिले यहाँका उद्योग धराशायी बन्नुपरेको बताए ।