Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

संसदमा राप्रपाको प्रश्नः राजसंस्थाप्रतिको जनलहरको धक्काले मन्त्री गायब भएको हो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले प्रतिनिधिसभाको बैठकमा सरकारको अनुपस्थितिप्रति कटाक्ष गरेकी छन् ।

१५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले ‘राजसंस्था पक्षधरको जनलहरको धक्काले मन्त्री गायब भएको हो कि’ भनेर कटाक्ष गरिन् । उनले मन्त्रीहरूलाई जिम्मेवार बन्न पनि आग्रह गरिन्। ‘राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको । तर, आउनुभयो, उहाँहरूलाई स्वागत छ । जिम्मेवार बन्नुपर्‍यो’, उनले भनिन् ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब आधा घण्टा ढिलो सुरु हुँदा पनि बैठकमा मन्त्रीहरू उपस्थित भएका थिएनन् । बैठक सुरु हुना साथ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । अहिले दोस्रो बैठक बसिरहेको छ ।