Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बैंकहरूबाट एकैदिन घट्यो २० अर्ब निक्षेप, सेयर बजारमा आकर्षण

राष्ट्र बैंकको तथ्यांकले बैंकहरूबाट एकैदिन २० अर्ब रूपैयाँ निक्षेप घटेको देखाएको छ। फागुन ११ गते बैंकहरूमा ६७ खर्ब ४० अर्ब रूपैयाँ निक्षेप रहेकोमा फागुन १२ गते नै २० अर्ब रूपैयाँले निक्षेप घटेर ६७ खर्ब २० अर्ब रूपैयाँमा सीमित भएको हो।

यो एक दिनमा वाणिज्य बैंकहरूबाट मात्रै यत्तिको निक्षेप बाहिरिएको हो। वाणिज्य बैंकहरूको निक्षेप ६० खर्ब १३ अर्बबाट घटेर ५९ खर्ब ९३ अर्बमा सीमित भएको छ। विकास बैंक र वित्त कम्पनीहरूको निक्षेपमा कुनै परिवर्तन छैन।

अहिले ठूला संस्थागत निक्षेपकर्ताले समेत निक्षेपबाट रकम झिकेर सेयर बजारमा हाल्न थालेको ब्रोकरहरू बताउँछन्।फागुनमा बैंकहरूले विभिन्न अवधिका संस्थागत निक्षेपमा तीन प्रतिशतदेखि ५.१ प्रतिशतसम्म हाराहारी ब्याजदर दिइरहेका छन्। एक वर्षअघिसम्म बैंकहरूले यस्तो निक्षेपमा आठ प्रतिशतभन्दा बढी ब्याजदर दिइरहेका थिए। 

ठूला संस्थागत लगानीकर्ताले सेयर बजारमा लगानी बढाउँदा व्यक्तिगत तथा साना लगानीकर्ताहरूले पनि सेयर बजारमा लगानी गरिरहेका छन्। व्यक्तिगत निक्षेपकर्ताले पनि अहिले अवधि अनुसार ५ प्रतिशतदेखि ६.१ प्रतिशत हाराहारी ब्याजदर पाइरहेका छन्। 

बजारमा निक्षेपको ब्याजदर घट्दा सेयर बजार बढ्ने गर्छ। ब्याजदर घट्ने क्रम एक वर्ष अघिदेखि नै देखिएको भए पनि यसको लाभ सेयर बजारले पाउन सकिरहेको थिएन। तर, विगत तीन महिनादेखि बैंकहरूको ब्याजदर न्यून तहमा रहेको छ। ब्याजदरमा सामान्य मात्रै परिवर्तन भइरहेको छ। त्यसैले पनि लगानी सेयर बजारमा आएको ब्रोकरहरू बताउँछन्।