Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विगत एक महिनायता सो क्षेत्र तनावग्रस्त बन्दै आइरहेको छ ।

केबलकार निमार्ण गर्नुपर्ने र निर्माण गर्न नहुने पक्षबीच झडपको स्थिति बन्न थालेपछि ताप्लेजुङ प्रशासनले निषेधाज्ञा जारी गरेको हो । ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

New Project (31).png 

आदेशमा भनिएको छ, ‘‘ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानिय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिका कारण भोली मिति २०८१–११–११ गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि निम्नबमोजमको चार किल्लाभित्रको क्षेत्रमा लागु हुने गरी ...यो आदेश जारी गरिएको छ।’’

निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस प्रदर्शन घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । आदेशको उल्लंघन गर्ने वा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूहउपर प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । 

निषेधाज्ञा लागु हुने क्षेत्र

१. फुङलिङ नगरपालिका बजार क्षेत्र
पूर्व –फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी,
पश्चिम–फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर (थलाङ धारा क्षेत्र सम्म),
उत्तर–फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानी,
दक्षिण–फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) ।

२. काफ्लेपाटी–बल्लुडाँडा क्षेत्र
पूर्व–पर्यटक प्रहरी भवनको १०० मिटर इलाका
पश्चिम–बल्लुडाँडा/डडेले इलाका
उत्तर–केबलकार बेस स्टेसन, पानीको मुहान इलाकाको १०० मिटर
दक्षिण–नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत) ।