Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बिहे खान गएका दुई समूहबीच झडप, एकको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा बिहेको निम्तो मान्न गएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुढीगंगा– ८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापा रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहोराका अनुसार गए राति बिहेको निम्तो खान गएका दुई समूहबीच झडप भएको थियो । झडपमा परी थापा घाइते भएका थिए।

अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बोहोराले जानकारी दिएका छन् । उनका अनुसार आरोपित तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा बुढीगंगा–७ वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।