Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भ्रष्टाचारी ठहरिएका नेपाल बैंकका उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहरिएका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् ।

बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचारको कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई स्वयम्भू काठमाडौंको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो । २०६८ भदौ ६ गते श्रेष्ठ सहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो ।

२०७३ कार्तिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो । छुट्टा छुट्टै मुद्दामा ६र६ महिना कैद सजाय पाएका श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई फैसला कार्यान्वयनको लागी आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गर्नु पर्ने भए पनि सार्वजनिक बिदाका कारण उनलाई सोमबार मात्रै अदालतमा पेश गरिने भएको छ ।