Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भ्रष्टाचार गर्नका लागि माओवादी नेतृत्वको सरकार ढालेः नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले राणा शासनको अन्त्यपछि बनेका सरकारहरू मध्ये उत्कृष्ट काम गरेको बताएका छन् । आज शनिवार काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएको बताए । 

उनले भने–‘हामी दावाका साथ भन्न सक्छौँ यो देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि कुनै सरकारले नगरेको काम हाम्रो सरकारले गर्‍यो । भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्यायो । त्यतिखेर भनियो, यो प्रधानमन्त्री र गृहमन्त्री रहँदासम्म सुत्न नपाइने भो, नीद हराम भो भनियो । भ्रष्टाचारीहरू, ठगहरू, राज्य लुट्नेहरू त्यसो भन्थे ।’ 

प्रधानमन्त्री बनेका बेला प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै भ्रष्टाचारविरुद्ध, राज्यलाई लुट्नेहरू, ठगीका विरुद्ध ठुलो अभियान सुरु गरेको बताए । लोडसेडिङ अन्त्य गर्न, मिटरब्याजीहरूविरुद्ध कानुन बनाएर पाँच छ हजार पीडितलाई मुक्त गराउन भूमिका खेलेको उल्लेख गरे । श्रेष्ठले भ्रष्टाचारीहरूलाई जोगाउन, भ्रष्टाचार गर्नका लागि माओवादी नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको बताए ।