प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जब जनताले सरकारबाट दुःख र सास्ती पाउँछ तब माओवादी अगाडि आउने गरेको बताएका छन् । आज शनिबार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै सापकोटाले माओवादी जिम्मेवार प्रतिपक्षी दल र युग परिवर्तनमा भूमिका खेलेको पार्टी भएका कारण जनताको विपत्तिमा टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।
अहिले देशमा पहिलो र दोस्रो ठूलो दलबाट बनेको सरकार अरू कसैले बनाई दिएको सरकार भएको पुष्टि भएको आरोप लगाए । असोज ७ गतेदेखि मौसम विभागले दिएको सूचनालाई सरकारले बेवास्ता गरेका कारण देशमा ठूलो जनधनको क्षति भएको बताए । उपाध्यक्ष सापकोटाले पछिल्लो समय देशलाई भ्रष्टाचारको दलदलमा फसाएर देशको अस्तित्व मेट्न लागिरहेको दाबी गरे ।
उपाध्यक्ष सापकोटाले देशमा विचार निर्माण र जनताको दुःखबाट बचाउनका लागि माओवादी केन्द्र सधैँ तत्पर रहेको जिकिर गरे । ‘भ्रष्टाचार भनेको कुनै पैसाको कुरा होइन । भ्रष्टाचार भनेको राष्ट्रिय सुरक्षा हो, राष्ट्रियता हो । भ्रष्टाचारले आक्रान्त हुँदै राष्ट्रलाई कमजोर पार्दै अहिले हाम्रो महान गौरवशाली मातृभूमि नेपाललाई भ्रष्टाचारको दलदलमा फसाएर देशको अस्तित्व मेट्न लागिरहेका छन्,’ सापकोटाले भने ।
उनले माओवादीले अहिले विचार निर्माण, रुपान्तरण र शुद्धिकरणको अभियानमा काम गरिरहेको बताए । ‘पार्टीलाई एकतावद्ध गर्दै तीन करोड नेपाली जनतालाई विश्वासमा लिँदै अघि बढ्ने हो भने नेपाली जनताको समाजवाद स्थापना गर्ने कुरा स्थापित भइछाड्ने छ,’ उनले थपे, ‘यो सभा हाम्रो पार्टीका लागि रुपान्तरण, यो शुद्धिकरण हो । आन्दोलनको पनि शुद्धिकरण हो । हामी एक–एक गरी व्यवहारबाट यो सावित गर्नेछौं ।’