Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कसले गर्‍यो सांसद तथा पूर्वमन्त्री गुप्तामाथि आक्रमण प्रयास?

लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री चन्द्रकेश (सीके) गुप्तामाथि शनिबार आफ्नै क्षेत्रमा युवाको समूहले आक्रमण प्रयास गरेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि गुप्तामाथि युवाहरूको समूहले उनीमाथि हातपातको प्रयास गरेको हो ।

मलामी गएर फर्कदै गर्दा पूर्वसांसद फकरुद्धिन खानको समूहका युवाले आफूहरूलाई आक्रमण गरेको गुप्ताले बताएका छन् । गुप्ताले आफू असुरक्षित भएपछि इप्रका लुम्बिनीमा बसेको बताए । फकरुद्धिन नेपाली कांग्रेसका पूर्व प्रदेश सांसद हुन् । इप्रका लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले दुई समूहबीच उत्पन्न विवादका बीच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको जानकारी दिएका छन् ।

प्रहरी कार्यालयअगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरूको समूहले हातपातको प्रयास गरेपछि प्रहरीले गुप्तालाई उद्दार गरी कार्यालयमा पुर्‍याएको थियो । शनिवार दिउँसो पनि प्रहरी कार्यालय अघि युवाहरूको समूह बसेको छ । ‘प्रहरी कार्यालयको गेटअगाडि नै ममाथि हातपातको प्रयास भयो,’ गुप्ताले भने, ‘मसँगै रहेका दुईजना साथीमध्ये एक जनालाई उनीहरूले गाडीबाट बाहिर निकालेरै कुटपिट गरे । सायद म पनि गाडीबाट बाहिर निस्किएको भए उनीहरूले ज्यान नै लिने थिए होला ।’ 

प्रहरीका अनुसार भैसहियामा युवाहरूबीच विवाद उत्पन्न भएको थियो । उक्त विवादमा पूर्वसांसद फकरउद्दिनका भजित नेतृत्वको समूह र सांसद गुप्ता समर्थकबीचको समूह आपसमा भिडेका थिए । ‘सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यो अवस्थासम्म आएको भन्ने हामीले बुझेका छौं’ उनले भने, ‘थप बुझ्न र समस्या समाधानका लागि दुबै पक्षका व्यक्तिहरूलाई बोलाएर छलफल गर्ने तयारी भएको छ ।’