Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जस्तोसुकै दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान रोकिँदैनः पृथ्वीसुब्बा गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताएका छन्। 

नेकपा एमाले लमजुङले शनिबार लमजुङमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको अनुसन्धान नरोकिने प्रष्ट  पारे । गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने कार्यान्वयनमा कसैको दबाबले नखोकिने प्रष्ट पारे।

संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार अघि बढ्ने उनले स्पष्ट पारे । ‘माननीय सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ, यही क्रममा ६ सय जना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन्, रवि लामिछाने पनि सोही क्रममा पक्राउ परेका हुन, कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,’ गुरुङले भने ।

सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै  गुरुङले रोक्न कोशिस गर्नेको अभियान सफल नहुने बताए। दोषी प्रमाणित भए सजाय भोग्न तयार हुन उनले आग्रह गरे । ‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानबिनको दायरामा परेका सवैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन,’ गुरुङले भने। 

उनले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प नरहेको प्रष्ट मान्यता पनि सुनाए । मन्त्री गुरुङले सडकमा वितण्डा देखाएर सुशासनको विपक्षमा रास्वपा उभिएको हो भन्ने प्रष्ट पनि गरे ।