प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आज शनिबार काठमाडौँमा खबरदारी सभा आयोजना गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो ।
काठमाडौँको भृकुटीमण्डपमा सभा हुन लागेको माओवादी नेताहरूले बताएका छन् । बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन माओवादीले नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
काठमाडौँका विभिन्न स्थानमा जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डपमा सभा गर्ने माओवादीले जनाएको छ । कांग्रेस–एमाले गठबन्धनको सरकार गठन भएपछि सत्ताबाट बाहिरिएको माओवादीले पहिलो पटक सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो ।
भृकुटीमण्डपमा आयोजना हुने सभाअघि काठमाडौं मलबाट जुलुस निकालिने माओवादीले जनाएको छ । ११ बजेपछि त्यहाँबाट सुरु हुने जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नेछन् । प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण रुपमा गरिने माओवादीले जनाएको छ ।