Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी

डेङ्गी संक्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी भएका छन् ।

बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि प्रत्येक शुक्रबार मन्त्रालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिसकेका मन्त्री खड्काले आज पनि उक्त कार्यलाई निरन्तरता दिँदै कर्मचारीलाई हौसला समेत प्रदान गरे ।

सरसफाइ अभियानका क्रममा मन्त्री खड्काले मन्त्रालय र मन्त्रालयअन्तर्गतका सबै कार्यालयलाई सफा राख्न सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारीलाई आग्रह गरे । उनले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्वस्थ हुन सरसफाइले विशेष महत्व दिने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने बताए ।

‘भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनु पर्छ’, मन्त्री खड्काले भने । मन्त्रालयका उपसचिव समेत रहेका मन्त्री खड्काका निजी सचिव मनोज पन्थले मन्त्रीको नेतृत्वमा भएको सरसफाइले सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे ।