Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि र छविलाई थप सात दिन हिरासतमा राख्न अनुमति

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई लाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यसअघि गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । अदालतले दिएको ६ दिनको समय सकिन लागेपछि लामिछानेलाई म्याद थपका लागि बिहीबार अदालतमा उपस्थित गराएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई प्रहरीले अघिल्लो शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर सडकमार्गमार्फत शनिबार बिहान पोखरा ल्याएको थियो ।

बिहीबार जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानून व्यवसायीहरू युवराज पराजुली र वेदबहादुर विष्टले बहस गर्दै उनीहरूलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए ।

उनीहरूले अनुसन्धानको क्रममा विभिन्न सरकारी कार्यालयहरू, संघसंस्था र बैंकहरूबाट कागजात माग गरिएको, तर प्राप्त भइनसकेको तथा बयानको काम समेत बाँकी रहेकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।लामिछानेकातर्फबाट वरिष्ठ अधिवक्ताहरू नारायण घिमिरे, हरिप्रसाद सुवेदी तथा अधिवक्ताहरू नारायण कँडेल, सांसदसमेत रहेकी सोविता गौतम, पदमराज शर्मा र मधुकुमार चौलागाँईले बहस गरेका थिए । त्यस्तै, जोशीका पक्षबाट अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।