Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अब सडकबाट सरकारको खबरदारी गर्छौंः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताएका छन् । 

आज (बुधबार) बिहान  सो पार्टी निकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको छलफलमा दाहालले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको बताए ।

सरकारको काममा सत्तारुढ दलकै नेताहरू सन्तुष्ट नरहेका उनले दाबी गरे । ‘विपक्षी दलहरूले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरूले समेत असन्तुष्टि जनाइरहेका छन्’, दाहालले भने । 

उद्योगहरूको बक्यौता महसुस उठाउन खोज्दा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको दाहालले बताए । 

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरूले ज्ञापनपत्र बुझाइसकेको बताउँदै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको बारे ध्यानाकर्षण गराउने बताए । आज प्रतिपक्षी दलका नेताहरूले राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ ।

 माओवादी पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट आवाज उठाउने तयारी  गरेको उनले बताए । कात्तिक १० गते पार्टीको वाग्मती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न गर्ने दाहालले जानकारी दिए ।