Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

घाँघर खोलामा आएको बाढीले माडी-ठोरी सडक अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी(ठोरी सडक अवरुद्ध भएको छ ।  इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी-ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिए।  

यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनले बताए। अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । धेरै पानी पर्नासाथ  खोला बढ्ने गरेका छन् । अधिकांश खोलामा पुल निर्माण भइसकेका छन ।

घाँघर, बगई र मगुईखोलामा पुल निर्माणको चरणमा रहेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन्। उनले छिटो काम सम्पन्न गर्न हुलाकी सडक आयोजनालाई आग्रह गरिरहेको बताइन्। यो खण्डमा पर्ने पतरेखोलामा भने अझै पुल निर्माणको काम सुरु भएको छैन ।