नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटीमा रिहा भएका छन् । सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयले शुक्रबार ९–९ हजार रुपैयाँ धरौटी लिएर छाडेको हो ।
गत सोमबार काठमाडौंको टुंडिखेलमा गौरापर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताको विरोध गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । गोपीकृष्ण र रामबहादुर मंगलबार तथा ठगुन्ना बुधबार पक्राउ परेका थिए । चौतर्फी दबाबपछि प्रहरीले चौथो दिनमै नै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
विरोध गर्ने मौलिक हकको हनन हुने गरी पक्राउ गरेर फौजदारी कसुर चलाइएको भन्दै अधिकारकर्मीदेखि विभिन्न दलका नेताहरुले विरोध गरेपछि प्रहरी नरम बनेको हो । साधरण तारेखमा छाड्नु पर्नेमा ९–९ हजार धरौटी लिइएकोमा उनीहरु असन्तुष्ट व्यक्त गरेका छन् ।
उनीहरुविरुद्ध हुलदंगा गरेको अभियोग लगाइएको छ । पक्राउ परेकामध्ये जैसी आइतबार वैदेशिक रोजगारीमा जाँदैछन् । त्यस्तै, बुढा पनि वैदेशिक रोजगारीको तयारीमा छन् भने ठगुन्ना कीर्तिपुरस्थित सहिद स्मारक कलेजका बिद्यार्थी हुन् ।