अन्तर्राष्ट्रिय उडान प्रभावित
नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का तीन वटा जहाज ‘ग्राउण्डेड’ हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । निगमका चारमध्ये तीन जहाज ग्राउण्डेड हुँदा काठमाडौँ, हङकङ, दोहा र दुबईमा झण्डै आठ सय जना यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडान रद्द हुँदा यात्रु प्रभावित समस्यामा परेका हुन् ।
न्यारोबडी ‘सगरमाथा’ मार्फत १५६ जना यात्रु लिएर काठमाडौंबाट हङकङ उड्ने जहाज ग्राउण्डेड भएपछि यात्रुलाई दिनभर र्याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायु सेवाको टिकट किनेर गन्तव्यमा पठाउने व्यवस्था मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । उनले विदेशमा अलपत्र पर्ने यात्रुलाई अन्तर्राष्ट्रिय नियमअनुसार पाँचतारे होटलमा राख्नै पर्ने व्यवस्थाअनुसार निगमले व्यवस्था गरेको जनाएका छन् । उडान रद्द हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुको व्यवस्थापन र टिकटमा हिजोको उडानबाट मात्रै निगमले एक करोड रुपैयाँ गुमाउनु परेको छ ।
निगमका प्रवक्ता पौडेलका अनुसार निगमसँग न्यारोबडी र वाइडबडी विमान दुई(दुई वटा छन् । तर एक वाइडबडी ‘सी–चेक’ का लागि दुई महिनादेखि इटालीमा अलपत्र छ । उनले अर्को वाइडबडी सी–चेककै लागि आज बेलुकी इटाली पठाउने तयारीमा रहेको जानकारी दिएका छन् । यस्तै आन्तरिकतर्फ निगमको दुई वटा ‘ट्विनअटर’ मध्ये एउटा मात्रै उडानमा छ । निगमले अहिलेको जहाज ग्राउण्डेडको समस्या अल्प समयको लागि भएको भन्दै निगमले छिटै जहाजको व्यवस्थापन गरी नियमित उडान गर्ने उल्लेख गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी ३३०, दुई वटा २२० न्यारोबडी जहाज, दुई वटा ट्विनअटर जहाज सञ्चालनमा रहेको अवस्था हो । चार जहाजमध्ये नाइनएन एएल जेड जहाज आज दुबई हुँदै इटालीमा मर्मतको लागि जाँदैछ । निगमको एएलवाई जहाज इटलीमा नै मर्मत भइरहेको छ । उक्त जहाज अगस्टभित्र नै आउने गरी काम भइरहेको छ ।’
निगमका अनुसार न्यारोवडी जहाजमा देखिएको समस्या अल्पकालीन रहेको भन्दै एक–दुई दिनभित्र समाधान हुनेछ । निगमका प्रवक्ता पौडेलले अन्य अन्तर्राष्ट्रिय उडानहरूमा पनि जहाज ग्राउण्डेड हुने समस्या भए पनि धेरै जहाज हुँदा उडान प्रभावित नहुने गरेको बताए । उनले धेरै जहाज भएका कम्पनीमा एक दुई वटा जहाजमा समस्या आउँदा कुनै समस्या पर्दैन तर वायुसेवा निगमसँग जहाजको कमीको कारण समस्या आएको बताए । उनले निगममा आएको समस्याको मूल जरो निगमसँग जहाज कमी भएको बताए । उनले धेरै जहाज भएको भए समस्या सतहमा आउन नहुने बताए । चाडपर्वकै बेलामा निगमका जहाज ग्राउण्डेड हुँदा टिकट नपाउने तथा हवाई भाडामा मनपरी हुने देखिएको छ ।