Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पाँच दिन बित्यो, सुनकोशीमा बेपत्ता भक्तपुरका तीन युवाको अवस्था अझै अज्ञात

सुनकोशी नदीमा जीप खस्दा शनिबारदेखि बेपत्ता भएका भक्तपुरका तीन जना युवाको अवस्था पाँच दिन बितिसक्दा समेत अज्ञात रहेको छ । घटना लगत्तैदेखि निरन्तर खोजी जारी राखे पनि उनीहरुलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताएका छन् ।  

बेपत्ता युवाको खोजीमा प्रहरीको गोताखोर टोली, जनपद प्रहरी र स्थानीय खटिरहेका छन् । गएको शनिबार साँझ खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ फर्किंदै गरेका चार युवा सवार प्रदेश– ३।ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

उक्त गाडीलाई आइतबार सुनकोशी नदीबाट निकालिएको थियो । गाडीमा सवार भक्तपुर सूर्यविनायक नगरपालिकाको जगाती घर भएका गाडी चालक ३२ वर्षीय अबिन बडे, ३० वर्षीय प्रनित स्यागू र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन् । सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा हामफालेर ज्यान जोगाएका छन् ।