मृतकको संख्या आठ पुग्यो, अझै दुईको अवस्था अज्ञात
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा यही भदौ ९ गते गएको पहिरोमा परेर बेपत्ता एक युवतीको शव चार दिनपछि भेटिएको छ । पहिरोमा बेपत्ता तीन जनामध्ये बुधबार बिहान एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । योसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा पहिरोले पुरेको अवस्थामा २३ वर्षीया बिन्दा पहरीको शव फेला परेको हो । पहिरोमा परेर मृत्यु भएको अवस्थामा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव सोही दिन भेटिएको थियो ।
सोमबार ७५ वर्षीय पुड्की पहरीको शव फेला परेको थियो । पहिरोमा अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा काले पहरी र झ्याउँकुरी पहरी छन् । पहिरोको कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका प्रहरीले जनाएको छ ।