म्याग्दीको घोरेपानी जाने क्रममा वेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जनाको शव फेला परेको छ । उनीहरू कास्कीको वीरेठाँटी हुँदै घोरेपानी जाँदै गर्दा बेपत्ता भएका थिए ।
पुरुष इरिक कासानोभासको शव फेला परेको हो भने महिला मोलास जुन्का मेसी अझै बेपत्ता छिन् । उनीहरूले भदौ ९ गते अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका थिए । त्यसयता उनीहरू बेपत्ता थिए ।
अन्नपूर्ण गाउँपालिका–९ को तिखेढुंगास्थित मौजा खोला नजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्टलगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए । उनीहरूलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ ।