Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने

भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार १२ वटा जलविद्युत् आयोजनाबाट भारतले थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको हो ।

प्राधिकरणले पठाएको १२ वटा जलविद्युत् आयोजनाबाट बिजुली लिन भारतले स्विकृती दिएको हो । नेपालले पहिलो पटक मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिहारमा विद्युत् निर्यात गर्ने भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

सोमबार दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अन्तरदेशीय व्यापार हेतु भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको छ ।’ अब मुलुकको २८ वटा परियोजनाबाट ९४१ मेगावाट बिजुली भारत जानेछ । ‘कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुग्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय बिजुली बिक्रीका लागि ६९० मेगावाट मात्रै स्विकृत हुँदा पनि गत वर्ष नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो । गत आर्थिक वर्ष नै नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको विज्ञप्तिमा उल्लेख छ । ‘सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढी छ ।’

‘भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।