Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

आइएमई र जीएमई गाभिएपछि एकीकृत कारोबार

आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार थालेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बुधबार एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । मर्जरपछि बनेको नयाँ संस्थाको चुक्ता पुँजीको एक अर्ब भन्दा बढीको कम्पनी भएको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको आईएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

‘आजको यस विशेष क्षणमा आइएमईको सुरुआती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेसनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन,’ उनले भने, ‘सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरू खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।’

जापान बस्दा हामी आफूहरूले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरू देखेका छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको स्थापना गरिएको ढकालले जानकारी दिए ।

‘नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना कुनाका जो कोहीको पहिलो रोजाई बन्न पुगेको छ । त्यतिमात्र होइन आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ ,’ उनले थपे, ‘पैसा पठाउने भनेको आइएमइ गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ । हाम्रा लागि यो भन्दा अर्को खुसीको कुरा अर्को के होला?’

आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरू, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय छन् । आइएमई सुरुआतको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रुपमा आइएमईको योगदान अवश्य धेरै नै छ ।

नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ । हामीले आइएमई सुरु गर्दा वार्षिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौं । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको ढकालले जानकारी दिए । ‘हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौं । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो,’ उनले भने ।