नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा बन्द भएको छ । आज कारोबार खुल्नेबित्तिकै दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको बजार अन्तिममा ४.४१ प्रतिशतले वृद्धि भएर २६८१.५६ विन्दुमा बन्द भएको हो ।
१५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सेयर कारोबार दिन बजार सकारात्मक देखिएको छ । बेच्नेभन्दा किन्ने बढ्दा दुईपटकसम्म सर्किट ब्रेक लागेर बजार बन्द भयो । पहिले एक मिनेटमा बजार चार प्रतिशतले बढेर २० मिनेट र त्यसपछि पुनः सर्किट ब्रेक लागेर ४० मिनेट बजार बन्द भएको थियो ।
नेपाल राष्ट्र बेंकले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले बैंकलाई लक्षित राम्रो नीतिहरू लिएको थियो । त्यसले गर्दा पनि आज बैंकिङ समूहमा उछाल आएको हो । मौद्रिक नीतिमा संस्थागत लगानीकर्ताका लागि लगाइएको २० करोडको क्याप हटेको छ । विशेष गरेर संस्थागत लगानीकर्ताले वित्तीय अवस्था राम्रो भएको कम्पनीमा लगानी गर्ने गरेका छन् । त्यसमा बैंक पर्ने गरेका कारण आज सबै बैंकमा उछाल आएको हो ।
२७०० विन्दुमा पुगेको नेप्से बजार बन्द हुँदा ४.४१ प्रतिशतले बढेर २६८१.५६ विन्दुमा पुगेको छ । आज नेप्से ११३.४२ अंकले बढ्दा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३१८ वटा कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर १ लाख ६३ हजार ८१० पटक किनबेच भएको छ । आज १४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्य बढ्दा लघुवित्त समूह भने घटेको छ । लघुवित्त समूह १०.०६ अंकले घटेर ५५६१.०७ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी बढ्ने समूहमा बैंकिङ र विकास बैंक नै रहेका छन् । विकास बैंक समूह पनि आज ४.८७ प्रतिशतले बढेर ५२९१.७१ विन्दुमा पुगेको छ ।
आज २१ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एउटा कम्पनीको शेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी कुमारी बैंकको कारोबार भएको छ ।